Home » विश्वविख्यात कूटनीतिज्ञ तथा नोबेल विजेता हेनरी किसिन्जरको १०० वर्षमा निधन
पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको१०० वर्षमा निधन भएको छ । किंसिगर एसोसियट्सले एक वक्तव्य जारी गर्दै विश्वविख्यात कूटनीतिज्ञका रूपमा परिचित किसिन्जरको कनेक्टिकटस्थित निवासमा बुधबार निधन भएको जनाएको हो ।किसिन्जरले तत्कालीन अमेरिकी राष्ट्रपतिहरू रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।किसिन्जरले सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए । भियतनाम युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्विडिस एकेडेमीले किसिन्जर र भियतनामी कूटनीतिज्ञ ली डक थोलाई त्यस वर्ष संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार दिएको थियो ।कूटनीतिसम्बन्धी थुप्रै पुस्तक लेखेका किसिन्जरको पछिल्लो पटक अप्रिल २०२२ मा ‘लिडरसिप : सिक्स स्टडिज इन वर्ल्ड स्ट्राटेजी’ पुस्तकसमेत प्रकाशित भएको थियो । जीवनको उत्तरार्धसम्म सक्रिय रहेकाले उनले यही जुलाईमा बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका थिए ।किसिन्जरले सन् १९७० को दशकमा कूटनीतिक रूपमा एक्लिएको चीनलाई विश्वमञ्चमा उपस्थित गराउन महत्त्वपूर्ण भूमिकासमेत खेलेका थिए । किसिन्जरको जन्म भने जर्मनीको एक युहदी परिवारमा भएको थियो । तानाशाही नाजीहरूबाट जोगिन उनको परिवार सन् १९३८ मा अमेरिका गएको थियो ।सन् १९२३ मा जन्मिएका किसिन्जर १९४३ मा अमेरिकी नागरिक बनेका थिए । केही समय हार्भर्ड विश्वविद्यालयमा समेत प्राध्यापन गरेका उनलाई सन् १९६९ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए । सन् १९७३ मा भने उनी अमेरिकी विदेशमन्त्री बनेका थिए । उनले नोबेल पुरस्कार पाउँदा विवादसमेत भएको थियो । कम्बोडियामा बम आक्रमण र केही क्रुर शासकलाई सहयोग गरेको आरोपसमेत उनीमाथि लागेको थियो ।भियतनामी विदेशमन्त्री थोले भने नोबेल शान्ति पुरस्कार अस्वीकार गरेका थिए । नोबेल शान्ति पुरस्कारको इतिहासमै विरोधस्वरूप नोबेल समितिका दुई जना सदस्यले राजीनामासमेत दिएका थिए ।न्युयोर्क टाइम्स पत्रिकाले त त्यसलाई ‘नोबेल युद्ध पुरस्कार’ भनेर प्रतिक्रिया जनाएको थियो । न्युयोर्क टाइम्सले किसिन्जरलाई शान्ति पुरस्कार दिनु हतार र अपरिपक्व निर्णय भएको लेखेको थियो । नोबेल शान्ति पुरस्कार प्राप्त गर्दैगर्दा किसिन्जर मध्यपूर्वको कूटनीतिमा व्यस्त भएको समेत उसको भनाइ थियो ।