धनगढीस्थित सारथि अस्पतालमा आगलागी भएको छ । अस्पतालसँगै जोडिएको भण्डारी सुज सेन्टरबाट सुरु भएको आगलागी फैलिएर अस्पतालमा पनि क्षति पुर्याएको हो ।अस्पतालका सञ्चालक वेदप्रकाश जोशीका अनुसार अस्पतालमा आगलागी भएपछि उपचाररत सबै बिरामीलाई राति नै सेती प्रादेशिक अस्पतालमा सारिएको छ । अस्पतालमा पाँच जना उपचाररत थिए ।‘अस्पतालको भौतिक संरचना नष्ट भयो तर बिरामीहरूलाई भने तत्काल सेतीमा सिफ्ट गर्यौं,’ जोशीले भने । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भवनमा सारथी अस्पताल सञ्चालन हुँदै आएको थियो ।मध्यराति साढे १२ बजे भएको आगलागी नियन्त्रण गर्न धनगढी, गोदावरी र कञ्चनपुरको पुनर्वास नगरपालिकाका चार वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।साथै, प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीसमेत खटिएको थियो । प्रहरीको प्रारम्भिक अनुमानअनुसार भण्डारी सुज सेन्टरमा विद्युत् सर्टपछि आगलागी भएको हो । आगलागीबाट अस्पताल र सँगै जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको भएको छ ।