मोरङ — मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन् । मोरङको पथरी शनिश्चरे– ४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने बताए । मुख्यमन्त्री कार्कीले भने, ‘कम बजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालन हुँदा छिटो आर्थिक समृद्धि हुन्छ । संघबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ ।’समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरेका थिए । प्रदेश सरकार भौतिक विकाससँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गरेका थिए ।कार्यक्रममा पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले मनमोहन गान्धी मार्ग र पथरी डायनिया सडकखण्डले अझै पूर्णता नपाएको जानकारी गराए । उनले भने, ‘योजना अलपत्र भएका कारण जनताले सास्ती खेप्नुपरेको छ । जनताको स्वास्थ्यमा समस्या उत्पन्न गराएको छ । सर्वसाधारणले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आउनुपरेको छ ।’नगरप्रमुखले भारतको सिक्टीबाट सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे हुँदै मिक्लाजुङ पाँचथर जोड्ने सडक निर्माणमा पनि चासो राखिदिन अनुरोध गरेका थिए ।उक्त भवन निर्माणका लागि सोही वडा निवासी गणेश भण्डारी र अम्बिका भण्डारी दम्पतीले आफ्नो दिवंगत छोराको सम्झानामा पाँच कठ्ठा जमिन दान गरेका थिए । उक्त भवन जिपी बिल्डर्स कम्पनीले एक करोड ४४ लाख ६१ हजार १३ मा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । दुईतले भवनको विस्तृत आयोजना प्रतिवेदन सात करोडको तयार भएको थियो ।