सिरहा, कार्तिक ५ गते । ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तगर्त इजरायल गएका नेपाली विद्यार्थीहरुमध्ये हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जनाको मृत्यु भएको छ । जसमध्ये तीन जनाको शव आज काठमाडौं आईपुगेको छ ।
फ्लाई दुबईको उडानबाट शव नेपाल ल्याइएको हो । शव आएसँगै परराष्ट्र मन्त्री एनपी साउद, नेपालस्थित इजरायलका राजदूत र मृतक विद्यार्थीका आफन्त विमानस्थल पुगेका थिए ।
हमास समूहको आक्रमणमा दक्षिणी इजरायलको किबुज अलुमिममा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । जसमध्ये ३ जनाको शव आज बिहान काठमाडौं ल्याइएको छ ।
उक्त हमलामा परी ज्यान गुमाएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव काठमाडौं ल्याइएको हो । आशिष चौधरीको शव पनि आजै ल्याइनेछ । अन्य बाँकी शवको पहिचानको काम भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । पहिचानको काम सकिएपछि बाँकी शव नेपाल ल्याइने छ ।