सिरहा, असोज २९ गते । ओलम्पिक खेलकुदमा १२८ वर्षपछि क्रिकेट खेल पनि समावेश हुने भएको छ ।
भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको १४१औं सत्रमा क्रिकेटसहित ५ खेल ओलम्पिकमा समावेश गराउने निर्णय भएको हो ।
सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेटसहित बेसबल÷सफ्टबल, फ्ल्याग फुटबल, सिक्सेज र स्क्वास पनि समावेश गरिएको छ । ओलम्पिकमा ट्वान्टी–२० फर्म्याटमा क्रिकेट प्रतियोगिता हुनेछ ।
ओलम्पिकमा करिब १२० वर्षपछि क्रिकेट खेल पुनः समावेश गरिएको थियो । यसअघि सन् १९०० मा पेरिसमा भएको ओलम्पिक खेलमा क्रिकेटमा फ्रान्स र बेलायत सहभागी भएका थिए ।
यसअघि हालै चीनमा भएको एसियाली खेलकुदमा पुरुष र महिलातर्फ ट्वान्टी–२० क्रिकेट समावेश गरिएको थियो । त्यसअघि सन् २०१० र २०१४ को एसियाली खेलकुदमा पनि क्रिकेट समावेश थियो ।