सिरहा, असोज २८ गते । आजबाट नेपाली हिन्दूहरूको महान् चाड दसैँ सुरु भएको छ । नवदुर्गाको पूजा आराधना गर्ने, राम्रो लगाउने, मिठो खाने र मान्यजनका हातबाट टीका आशीर्वाद ग्रहण गर्ने चाडका रूपमा दसैँलाई लिइन्छ ।
नौ दिनसम्म नवदुर्गाको पूजा आराधना गरिने भएकाले यस अवधिलाई नवरात्र पनि भनिन्छ । घटस्थापनादेखि नवरात्र आरम्भ हुन्छ । दशौँ दिनमा देवी विसर्जन गरेपछि आफूभन्दा ठूलाको हातबाट टीका, जमरा ग्रहण गरिन्छ । अनादिकालदेखि नै विजया दशमीलाई नेपालका सबै समुदायले मनाउँदै आएका छन् । तराई मधेशका जिल्लामा दुर्गापूजा भनेर विशेष तयारी गरिन्छ । त्यही भएर गाउँदेखि बजार क्षेत्रमा दुर्गा भवानीको पूजापाठ गर्न विशाल टेन्ट लगाउने, सजाउने, वाजागाजा, सांस्कृतिक कार्यक्रम गर्ने चलन रह्दै आएको छ ।
नवरात्रको महत्व
वर्षमा चारवटा नवरात्र छन् । पुसमा, चैतमा, असारमा पनि नवरात्र पर्छ । तर, शारदीय दुर्गा पूजा बडादसैँ हो । यतिवेला उपासना गर्नाले देवी विशेष खुसी हुन्छिन् भन्ने विश्वास छ । प्रतिपदा ९घटस्थापना०देखि नवमीसम्मको नवरात्रको उपासना बुझ्नलाई हामीले यसको महत्वबारे बुझ्नुपर्छ ।
रात्र भनेको अन्धकार हो । अन्धकार भनेको मोह, तमस, कामवासना वा आशक्ति हो । हाम्रो शरीरका नौवटा इन्द्रियले ग्रहण गर्ने आशक्ति हटाउन र इन्द्रियहरूलाई थप सशक्त बनाउन नवदुर्गाको उपासना गरिन्छ ।
सिरहाको दुर्गापूजा
नवरात्र सुरु भएसँगै सिरहा सदरमुकाममा रहेको दुर्गा मन्दिरसँगै देशभरका विभिन्न शक्तिपीठमा विहानै पुगेर पूजापाठ गर्ने क्रम सुरु भएको छ । नवरात्रको अवसरमा सिरहाको हटियामा अवस्थित दुर्गा मन्दिरलाई भव्य पण्डाल लगाएर सजाईएको छ । यस्तै माडर, सारस्वर, भलुवाही, विष्णुपुर, मिर्चैया, वस्तीपुर, कर्जन्हा, गोलबजार, चोहर्वा, सुखिपुर, बरियारपट्टी, लहान, धनगढी लगायतका कयौं स्थानमा विशेष तयारी गरिएको छ ।
यस अवसरमा विशेष वाजा बजाउने चलन रहेको छ । मिथिलाको लोकबाजाको रुपमा रहेको ढोलपिपही गाउघरमा बजाउने चलन छ । यस्तै लोकनृत्य झिझियाँको रौनक पनि थपिएको छ ।