२०७९ को चुनाव परिणाम हेर्दा समानुपातिकतर्फ कुल सदर मतमध्ये वामपन्थी दलहरूले ४२.७२ प्रतिशत मत पाएका छन् । १६५ निर्वाचन क्षेत्रमा एक करोड ५ लाख ६० हजार ८२ कुल सदर मत खसेकोमा वामपन्थी दलहरूले ४५ लाख ११ हजार ४०५ मत पाएको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ ।यो मत निर्वाचन आयोगमा दर्ता भएर चुनावमा भाग लिएका वामपन्थी दलहरूको मात्र हो । निर्वाचन प्रक्रियाबाट बाहिरिएका नेत्रविक्रम चन्द ‘विप्लव’, क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत स–साना घटकको जनमतसमेत जोड्ने हो भने यो मत अझै बढ्छ ।२०७४ को निर्वाचनमा ४३ प्रतिशत मत एमाले र माओवादी केन्द्रको मात्रै थियो । आयोगको तथ्याङ्क अनुसार १४ वटा वामपन्थी दलमध्ये नेकपा एमाले र नेकपा माओवादी केन्द्रमात्र राष्ट्रिय दल बन्न सफल छन् ।संसदको सिट सङ्ख्याको आधारमा दोस्रो ठुलो दल रहेको एमाले लोकप्रिय मतमा नेपाली कांग्रेसभन्दा अगाडि छ । तर गणतन्त्र स्थापनापछिको १६ वर्षमा ०७४ मा बाहेक वामपन्थीको एकल सरकार बन्न सकेन । नेपालको कम्युनिस्ट इतिहासमै सर्वाधिक लोकप्रिय मत पाएको नेकपा नेतृत्वको सरकार ४० महिनामै विघटन भयो ।नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७६ वर्षमा तीन दर्जनभन्दा बढी टुक्रामा विभाजन भइसकेको छ । मिल्दा एकले अर्कालाई देवत्वकरण गर्ने, नमिल्दा राक्षसीकरण गर्ने सबैभन्दा ठुलो रोग कम्युनिस्ट पार्टीमा देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो– प्रतिनिधि सभामा देखिएको एमाले र माओवादी द्वन्द्व ।माओवादी जनयुद्धलाई सत्तारुढ एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि माओवादीका सांसदहरू क्रुद्ध बने । सोही विषयलाई लिएर एमाले र माओवादीबिच संसदमा झण्डै भिडन्तको स्थिति सिर्जना भयो । वामपन्थी जनमत अत्यधिक भए पनि वर्गीय सङ्घर्ष अन्त्य गरी समाजवादमा पुग्न उनीहरू किन एक ठाउँमा उभिन सक्दैनन् ? सहकार्य एकले अर्कोलाई महान् देख्ने तर सत्ताबाट बाहिरिने बित्तिकै एकअर्कालाई गद्दार, दक्षिणपन्थी संशोधनवादको आरोप लगाउने प्रवृत्ति किन बढ्दैछ ? वामपन्थी शक्ति आपसमा भिड्दा फइदा कसलाई पुगेको छ ? मतभेद वैचारिक, सैद्धान्तिक हो कि व्यक्तिगत कुण्ठा ? यस्ता प्रश्नबारे नेताहरूले आफू अनुकूल तर्क पेस गर्ने गरेका छन् ।पार्टी कामको सिलसिलामा सोमबार प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको बिर्तामोड पुगेका पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्व बुर्जुवाकरण भएकाले वामपन्थी एकता सम्भव नभएको बताए ।‘एमालेभित्रका इमानदार नेता तथा कार्यकर्तालाई समेटेर एउटै बलियो कम्युनिस्ट पार्टी बनाउन मैले धेरैपटक पहल गरे । तर त्यसको नेतृत्व यति बुर्जुवाकरण र दलालहरूसँग जोडिएको छ कि गधालाई धोएर गाई नहुनेजस्तै सम्भव भएन’, स्थानीयसँगको कुराकानीमा उनले भनेका थिए ।संयुक्त राष्ट्र संघको महासभामा जानुअघि प्रधानमन्त्री ओलीले संसदको रोष्टममा उभिएर घुमाउरो शैलीमा माओवादी आन्दोलन हिंसात्मक भएको बताए । सार्वजनिक रूपमै माओवादी नेताहरूमाथि ओलीले ‘अराजनीतिक टिप्पणी गर्दै आएका छन् । माओवादीले पनि एमाले नेताहरूको भण्डाफोर गर्न कुनै कसर बाँकी राखेको छैन । केही समयअघि ओलीले सार्वजनिक मञ्चबाटै पूर्वप्रधानमन्त्री माधव नेपाललाई लक्षित गरी ‘नाम लिँदा पनि मुख कुल्ला गर्नुपर्छ’सम्म भन्न भ्याए । तर गत फागुन २२ गते माओवादी–एमाले सत्ता समीकरण गडबड हुने देखिएपछि ओली उनै माधवको घरसम्म पुग्न भ्याए ।कम्युनिस्ट पार्टी बारम्बार फुट्नु र जुट्नु, तल्लो स्तरमा पुगेर एकले अर्कालाई होच्याउनु, गालीगलौज गर्नु नयाँ विषय नभएको विश्लेषकहरूको भनाइ छ । आखिर कम्युनिस्ट पार्टी नमिल्नुको पछाडि आन्तरिक फ्याक्टर प्रधान हो कि बाहिरी फ्याक्टर प्रधान हो भन्ने विषयमा उनीहरूको आफ्नै तर्क छ ।यद्यपि पछिल्लो समय सत्ता स्वार्थ र शक्ति सङ्घर्ष पार्टी विभाजन वा नमिल्नुको मुख्य कारण भएको अधिकांशको मत छ । वामपन्थी आन्दोलनबारे विद्यावारिधि गरेका विश्लेषक डा. सुरेन्द्र केसीले वामपन्थी दलहरू नमिल्नुको मुख्य फ्याक्टर आन्तरिक भएको बताउँछन् । मध्यमवर्गीय चरित्र, महत्त्वाकाङ्क्षी र पदभोगी भएकाले नेपालको कम्युनिस्ट आन्दोलनमा विचलन आएको उनको भनाइ छ ।‘यिनीहरू आधारभूत मानिस होइनन् । यिनीहरू मध्यमवर्ग, महत्त्वाकाङ्क्षी र पदभोगी हुन् । पदलाई केन्द्रबिन्दु बनाएर आन्दोलनमा केन्द्रित भएपछि समस्या आएको हो । राजनीतिक शास्त्रमा सिद्धान्ततः आन्तरिक फ्याक्टर प्रधान हुन्छ’, उनले भने, ‘तर नेपालमा बाहिरी फ्याक्टर सहायक हो । अवसरवादीले जतिखेर जेपनि गर्न सक्छन् । हिजो नेकपाको नाममा एक ठाउँमा आए, फेरि टुटे । अवसरवाद, पद र प्रतिष्ठाका कारण मिल्न पनि सक्छन् । अवसरवादीको कुनै इमान, रूप र चरित्र हुँदैन ।’माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पुँजीवादी शक्तिले कम्युनिस्टहरूलाई मिल्न नदिए पनि मुख्य कारण आन्तरिक भएको जिकिर गरे । ‘पुँजीवादीहरू समग्र कम्युनिस्टहरू एक ठाउँमा नआउन् भन्ने चाहन्छन् । वामपन्थी आए उनीहरू कमजोर हुन्छन् । ती सहायक विषय हुन् । मुख्य त हाम्रो आन्तरिक विषय प्रधान हो’, गजुरेलले भने, ‘विचारलाई दह्रोसँग पक्रिन नसक्दाको परिणाम हो । विचार, नीति, विधि, मूल्य, मान्यता बमोजिम नेताहरूको कार्यशैली, आचरण बलियोसँग पक्रिन नसक्दा विचलन आएको हो ।’एमालेको बुर्जुवाकरण नै नेपाली कम्युनिस्ट आन्दोलनको मूख्य समस्या भएको गजुरेलको विश्लेषण छ । त्यसको प्रभावबाट पछिल्लो समय माओवादी पनि अछुतो नरहेको उनले बताए ।उनले भने, ‘एमालेमा अलिकति लेफ्ट छ तर बुर्जुवाकरण भइसकेको छ । कम्युनिस्टको लोगोमात्र छ । हामी पनि बुर्जुवाकरणतर्फ बढिराखेका थियौँ । त्यसलाई रोक्नका लागि हामी अहिले आन्तरिक छलफलमा छौँ । हामी पनि कतै न कतै वर्गबाट विचलित भएकै हो । वर्गीय संरचना कमजोर भएकै हो । आचरण र जीवन शैलीमा विचलन आएकै हो । त्यसलाई सच्याउन सकिन्छ ।’कम्युनिस्टहरू कम्युनिस्टका रूपमा नरहँदा आपसमा लडिराखेको गजुरेलको तर्क छ । ‘कम्युनिस्टका रूपमा रहेका भए सहकार्य भइहाल्थ्यो नि’, उनले भने ।एमाले अनुशासन आयोगका पूर्वअध्यक्ष अमृतकुमार बोहोराले पनि वामपन्थीबिच एकता नहुनुमा आन्तरिक कारण मूख्य भएको स्वीकारेका छन् । नेताहरूको आ–आफ्नै दम्भ, अहमता, कुण्ठा र सत्ता स्वार्थका कारण वामपन्थीहरू एक ठाउँमा आउन नसकेको उनको बुझाइ छ ।‘मूल कुरा आन्तरिक हो । हामी आन्तरिक शक्तिहरू आफ्नो लक्ष्य र उद्देश्यका निम्ति सुस्पष्ट, दृढ हुन्छौँ । त्यसमा भरोसा गर्छौं । अरुले फुटाउन खोजेर हामी फुट्ने होइन । तर त्यो प्रयास भइराख्छ,’ उनले भने, ‘६२ प्रतिशत जनमत भएर पनि एक ठाउँमा उभिन नसक्नु कमजोरी हो ।’कम्युनिस्टहरू एक ठाउँमा उभिन सक्नुपर्थ्यो भन्ने मत प्रकट गरे । ‘तर आ–आफ्नै ढिपी, अहमता, कुण्ठा मिश्रित छन् । यसमा सत्ता स्वार्थ त हुने नै भयो । अलिअलि वैचारिक र सैद्धान्तिक पनि मिसिएको छ,’ उनले भने ।सैद्धान्तिक र वैचारिक मतभेद पहिले पनि हुने गरेको स्मरण गर्दै बोहोराले अहिले सत्ताकेन्द्रित राजनीति हावी हुँदा एकतामा समस्या आएको निष्कर्ष निकाले । लक्ष्यसँग जोडिएको भए यस्ता विवाद गौण हुने उनको भनाइ छ ।‘वामपन्थी दलहरूमा सत्ता प्रधान भयो । सैद्धान्तिक र वैचारिक पक्ष गौण भयो२०६२ सालमा तत्कालीन विद्रोही माओवादी र संसदवादी सात दलबिच १२ बुँदे सहमति भएपछि २०६२÷६३ सालको जनआन्दोलन सफल भएको थियो । ०६४ को पहिलो संविधान सभा निर्वाचनमा माओवादी पहिलो दलको रूपमा स्थापित भएपछि एमाले र माओवादीबिच एकताको पहल भए पनि सफल हुन सकेन । तथापि प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहभागी भएको थियो । ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा माओवादी कमजोर भएपछि राष्ट्रिय राजनीतिमा एमाले फेरि हावी भयो । त्यसपछि एकता प्रक्रिया समाप्त भयो । ०७२ सालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि एमाले र माओवादीबिच दोस्रो पटक सत्ता सहकार्य भयो । माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बन्न सफल भए पनि सहकार्य लामो समय टिकेन । ०७४ सालमा पार्टी एकता गर्ने शर्तसहित एमाले र माओवादीबिच चुनावी तालमेल भयो । निर्वाचनपछि ओली शक्तिशाली प्रधानमन्त्री भए ।पूर्वसहमति अनुसार ०७५ सालमा पार्टी एकता भयो तर नेतृत्वबिच सत्ता स्वार्थ र शक्ति सङ्घर्षका कारण ओली सरकार ढल्यो । नेकपासमेत विघटन भयो । ०७९ को निर्वाचनपछि फेरि एमाले र माओवादीबिच दुई पटक सत्ता सहकार्य भयो । यसबिचमा एकले अर्काको अस्तित्व स्वीकार्नेभन्दा पनि दबाबमा राख्ने र गलाउने नीति हावी हुँदा सत्ता समीकरण भत्किएको वाम विश्लेषक श्याम श्रेष्ठको भनाइ छ ।‘वामपन्थीहरू आपसमा लड्दा फाइदा कसलाई हुन्छ भन्ने कुरा नेताहरूलाई राम्रोसँग थाहा छ । तर दम्भ, अहंकार, एक अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा सहकार्य र एकता हुन सकेको छैन’, श्रेष्ठले भने ।०७९ को निर्वाचनमा प्रतिनिधि सभातर्फ वामपन्थी दलहरूले पाएको मतमध्ये एमालेले २८ लाख ४५ हजार ६४१ पाएको छ । त्यतिबेला कांग्रेस–माओवादी गठबन्धनबिच एक्लै प्रतिस्पर्धा गरेको एमालेले सबैभन्दा बढी मत पाएको थियो ।यही मतबाट हौसिएको एमाले आगामी निर्वाचनमा एल्लै बहुमत ल्याउने मिसनमा छ । आगामी निर्वाचनमा माओवादीलाई एक्ल्याउने रणनीतिका साथ कांग्रेस र एमालेले सात बुँदे सहमति गरेको देखिन्छ । कांग्रेस र एमालेबिचको सत्ता सहकार्यले सबैभन्दा अप्ठ्यारो मोडमा माओवादी र एकीकृत समाजवादी छन् ।अघिल्लो पटक कांग्रेससँग तालमेल गर्दा माओवादीले प्रत्यक्षतर्फ जम्मा १८ सिट जितेको थियो भने एकीकृत समाजवादीले १० सिट जित्यो । माओवादी ११ लाख ७५ हजार ६८४ मत ल्याएर तेस्रो दल हुँदा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत ल्यायो ।निर्वाचन आयोगको तथ्याङ्क अनुसार अन्य साना वामपन्थी दलहरूमा नेमकिपाले ७५ हजार १६८, राष्ट्रिय जनमोर्चाले ४६ हजार ४०५, मालेले ३० हजार ५९९ र नेकपाले ८ हजार १३ मत पाएको छ । यस्तै नेकपा पुष्पलालले ७ हजार ४०२, जनसमाजवादी पार्टी नेपालले ५ हजार ९२५, नेकपा समाजवादी (अन्य दुई दलसमेत) ५ हजार ८३९ मत पाएको छ । नेकपा माओवादी समाजवादीले ३ हजार ७०२, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ३ हजार ३५४, नेकपा परिवर्तनले २ हजार २२० र नेपाल समाजवादी पार्टीले २ हजार ९६३ मत पाएको छ ।