प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । गृहमन्त्री रमेश लेखकले ज्ञवालीसहित ३ जना एआईजीहरुको सरुवा प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् ।मंगलबार बस्ने मन्त्रिपरिषद्ले त्यसबारे निर्णय गर्नेछ । सीआईबी प्रमुख ज्ञवालीलाई पाँच महिनामा नै त्यहाँबाट सरुवा गर्न प्रस्ताव गरिएको छ ।उनी २०८० चैत २ मा मन्त्रिपरिषद्को निर्णय अनुसार सीआईबीमा गएका हुन् । ब्युरोमा एआईजी दीपक थापालाई पठाउन प्रस्ताव गरिएको छ । थापा अहिले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख हुन् ।उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । अहिले प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा कार्यरत बज्राचार्यलाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको विभागीय कारबाहीको सिफारिस गरेको थियो ।६० किलो सुनको अनुसन्धानमा त्रुटि गरेको भन्दै आयोगले आफ्नो प्रतिवेदनमा उनलाई दोषी किटान गरेको थियो । तर, उनलाई सरकारले कारबाही गर्नुको साटो काठमाडौँ उपत्यकाको सुरक्षा कमान्ड सुम्पिने तयारी गरेको भन्दै प्रहरीका उच्च अधिकृतहरू असन्तुष्ट बनेका छन् ।एआईजी ज्ञवालीलाई ब्युरोबाट हटाएर प्रदेश समन्वय विभाग र डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका रामदत्त जोशीलाई बढुवा नियुक्ति गरेर कार्य विभागका पदस्थापन गर्न प्रस्ताव गरिएको छ ।