सिरहा, वैशाख ६ गते । सिरहा प्रहरीले मिटरब्याज विरुद्धको अप्रेशन सुरु गरेको छ । यसै अन्र्तगत सिरहा प्रहरीले सिरहाको औरही गाउँपालिका–३ खजनपुरका ४५ वर्षीय रामबाबु यादवलाई पक्राउ गरेको छ । प्रहरीले यादवलाई ठगी आरोपमा पक्राउ गरी अदालतबाट म्याद थप गर्दै अनुसंधान अगाडी बढाएको छ ।
तिन लाख रकम दिएर नौ लाखको तमसुक कागज बनाएको र ५ धुर जग्गा आफ्नो श्रीमती ईन्द्रा देवी यादवको नाँउमा पास गराएको उजुरीको आधारमा यादवलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता रविन्द्रराज पाण्डेले बताएका छन् ।
ऋणको रुपमा लिएको तीन लाख रुपैयाँको सावा र ब्याज समेत चुक्ता गरेपनि जग्गा फिर्ता नगरेपछि ठगी मुद्दामा उजुरी दर्ता भएपछि पक्राउ गरिएको प्रहरी प्रवक्ता पाण्डेले बताएका छन् । अदालतबाट सात दिनको म्याद थप भई अनुसंधान भईरहेको प्रवक्ता पाण्डेले बताए ।