आफूहरूले पढ्दै आएको सङ्काय नै परिवर्तन गरिएको भन्दै महाराजगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थी आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स इक्जाम) बाट पास भएर बीएमएस (ब्याचलर मिडवाइफ्री साइन्स) पढ्न आएका विद्यार्थीहरू आफ्नो सङ्काय नै परिवर्तन गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।एउटा कार्यक्रमका लागि भनेर भर्ना लिइएको तर, अर्को कार्यक्रमको पढाइ भइरहेको, पाठ्यक्रम समेत अर्को विषयमा रहेको भन्दै विद्यार्थीहरूले क्याम्पसमा तालाबन्दी गर्नुका साथै फागुन २० गतेदेखि आन्दोलन थालेका हुन् । उनीहरूले एकेडेमिक र क्लिनिकल गतिविधिसमेत बन्द गरेका छन् ।क्याम्पस प्रशासन, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनको कार्यालय लगायतका सरोकारवाला निकायसँग पटकपटक छलफल गर्दा पनि समस्या समाधान नभएको विद्यार्थीहरूको गुनासो छ ।चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षाका लागि सूचना प्रकाशन गर्दा बीएमएस, बीएससी मिडवाइफ्रीबारे केही उल्लेख थिएन । आयोगले नै नलिएको विषयमा आईओएमले चार वर्षे बीएमएस कार्यक्रमका लागि भर्ना लियो । गत जेठ २७ मा महाराजगञ्ज नर्सिङ क्याम्पसको भर्ना सूचनामा समेत बीएमएस उल्लेख थियो ।क्याम्पसले २०८० जेठ ३२ मा ओरेन्टेशन कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा राखिएको ब्यानरमा पनि ‘बीएमएस’ नै उल्लेख थियो । विद्यार्थीहरूसँग गरिएको कबुलियतनामा पत्रमा समेत ‘बीएमएस’ नै थियो ।साउन ५ बाट पढाइ सुरू भयो र बीएमस भनेरै पढाइयो । मंसिर ४ सम्म बीएमएस कार्यक्रम भनेरै ‘क्लिनिकल ड्युटी रोस्टर’ समेत बनेको थियो । तर, अचानक मंसिर २२ मा बीएमएस कार्यक्रमलाई बीएससी मिडवाइफ्री भनेर परिवर्तन गरियो ।आफूले पढिरहेको विषयको पाठ्यक्रमबारे विद्यार्थीहरूले बारम्बार प्रश्न उठाउँदै आए पनि कतैबाट चित्तबुझ्दो जवाफ आउन सकेको थिएन । दोस्रो सेमेस्टरमा अध्ययनरत निरमाया गुरुङका अनुसार सुरूमा बीएमएस भनेर भर्ना भएको तर, अहिले कुन विषय हो भन्ने नै यकिन छैन ।‘हामी सुरूमा बीएमएस भनेर इनरोल भयौँ । कलेजमा ओरेन्टेशन क्लासमा पनि त्यही भनियो । पढ्दै गर्दा पछिमात्रै हामीले पढिरहेको कोर्ष ४ वर्षे रहेछ भनेर थाहा भयो,’ गुरुङले भनिन् ।चार वर्षे भने पनि विद्यार्थीहरूले स्वीकार गरेर पढिरहेका थिए । त्यही बेला कलेजबाट कोर्ष डिजाइन नै परिवर्तन भएर आयो । कलेजले बीएससी मिडवाइफ्री भनेर सबै कागजातमा उल्लेख गरिदियो । त्यसपछि विद्यार्थीहरूले विरोध जनाए ।क्याम्पस प्रमुख तथा अध्यापकहरूसँग कुरा गर्दा आफूहरूलाई ‘अहिले पढ्दै गर्नु । पछि हामी माथिल्लो निकायमा यो कुरा राखिदिन्छौँ । बीएससी मिडवाइफ्री पढ्दा समस्या नहोला’ भन्दै टार्न खोजिएको गुरुङले भनिन् ।क्याम्पसले विद्यार्थीहरूलाई पाठ्यक्रम दियो, जसमा पीसीएल नर्सिङमा पढेकै विषय थिए । त्यसपछि विद्यार्थीहरू आक्रोशित बने । पीसीएल नर्सिङ नै पढेर आएका विद्यार्थीहरूले ब्याचलरमा समेत त्यही कोर्ष किन पढ्ने भन्दै क्याम्पससँग प्रश्न गर्न थाले ।‘एउटै कुरालाई पढ्न त आएको होइन नि भन्यौँ । त्यसपछि म्यामहरूले यो पाठ्यक्रम पीसीएल र प्लस टु दुवै पृष्ठभूमिका विद्यार्थीका लागि बनाइएको हो । त्यही भएर तिमीहरूले समेत पढ्नुपर्छ भन्नुभयो । त्यसमा तिमीहरूलाई रिभाइज हुन्छ भन्ने कुरा गर्नुभयो,’ गुरुङले भनिन् ।करिकुलम माग्दा फस्ट र सेकेण्ड सेमेस्टर भनेर दुई वटा कन्टेन्टमात्रै पठाइदिएको उनले बताइन् । तर, प्रयोगात्मकमा भने बीएससी मिडवाइफ्री भनेर आयो । कहिले बीएमएस त कहिले बीएससी मिडवाइफ्री भनेर आउन थालेपछि विद्याथीहरू बुझ्न चिकित्सा शिक्षा। आयोगमा पुगे आयोगका अधिकारीहरूको कुरा सुनेर विद्यार्थीहरू चकित परे । ‘बीएससी मिडवाइफ्री भनेर पछिल्लो इन्टेकलाई मात्रै बनाएका हौँ । तपाईंहरू ६ महिना अगाडि नै कसरी मिडवाइफ्री हुनुभयो । हामीले दिएको बीएमएस नै हो । तपाईहरूलाई बीएससी मिडवाइफ्री बनाउन मिल्दैन भन्नुभयो,’ गुरूङले भनिन् ।त्यसपछि विद्यार्थीहरूले उक्त कुरा क्याम्पसमा राखे । क्याम्पसमा म्यामहरूले विद्यार्थीहरूलाई मनाउने प्रयास गरे । त्यसपछि विद्यार्थीहरू बीएससी मिडवाइफ्री नै हो भने पनि यसको प्रक्रिया के रहेछ ? लाइसेन्स पाउने व्यवस्था के रहेछ ? भनेर नेपाल नर्सिङ परिषद्मा बुझ्न पुगे ।परिषद्की अध्यक्ष प्राध्यापक सरला केसीले उनीहरूलाई बीएससी मिडवाइफ्रीको लागि कलेजबाट कुनै पनि समन्वय नभएको र पीसीएल पृष्ठभूमिबाट आएका विद्यार्थीहरूलाई बीएससी मिडवाइफ्रीको लाइसेन्स दिन नमिल्ने प्रस्ट पारिन् ।त्यसपछि विद्यार्थीहरू फेरि कलेजमै आए । क्याम्पस प्रमुख प्राध्यापक मुना राना थापाले उनीहरूलाई भनिन्, ‘तपाईंहरू मिडवाइफ्री हो भनेर एप्रोच गरिरहेका थियौँ । तर, तपाईंहरू बीएम (ब्याचलर मिडवाइफ्री) चाहिँ हो ।’प्रथम वर्षको दोस्रो सेमेस्टरको हकमा क्याम्पसले निकाल्ने ड्युटी सेड्युलमा माथि लेभलमा बीएमस थियो भने तल प्रोग्राम कोअर्डिनेटरमा बीएससी मिडवाइफ्री उल्लेख थियो । त्यसपछि विद्यार्थीहरू बुझ्न आईओएम डीन कार्यालय पुगेर एकेडिमिक तर्फका सहायक डीन प्राडा प्रेमराज ज्ञवालीलाई भेटे ।ज्ञवालीले प्लस टु साइन्सको सर्टिफिकेट नभएकाले बीएससी मिडवाइफ्री बीएमएस नै हो भने । त्यसपछि विद्यार्थीहरू झन् अन्योलमा परे । विद्यार्थीहरूले ज्ञापनपत्र बुझाउने काम गरे तर, केही उपाय चलेन । विद्यार्थीहरूको आवाज चर्को हुँदै गएपछि क्याम्पसले रातारात बीएससी मिडवाइफ्रीको पाठ्यक्रमलाई परिवर्तन गरेको विद्यार्थीहरूको आरोप छ ।जसरी पनि यही पढ्नुपर्छ भनेर क्याम्पसले दबाब दिन थालेपछि विद्यार्थीहरू एकेडेमिक काउन्सिल (त्रिवि प्राज्ञिक परिषद्) प्रमुख इमानसिंह बोहरालाई भेट्न पुगे । जहाँ उनले बीएमएसको कार्यक्रम प्रपोजल नै नगएको बताए । बीएमको गएको तर, बीएमएसको नगएको उनले बताएका थिए ।विद्यार्थीहरूले करिकुलमलाई मात्रै मुद्दा बनाइरहेको बेला कार्यक्रम प्रपोजल नै नगएको र पास नभएको देखियो । त्यसपछि विद्यार्थीहरू आन्दोलित बने, र क्याम्पसमा तालाबन्दी गरिदिए । विद्यार्थीहरूको आन्दोलनलाई महाराजगञ्ज नर्सिङ क्याम्पस स्ववियुले समेत साथ दिँदै आएको छ ।एक वर्षको अवधिमा कलेजले विभिन्न कोर्ष देखाएपछि विद्यार्थीहरूले आफ्नो भविष्यबारे नै प्रश्न उठाइरहेका छन् । दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी दुर्गा शर्माले पढिरहेको विषयमा थुप्रै खालका प्रश्न रहेको बताइन् ।‘९ महिना भयो, टीयू रजिष्ट्रेशन आएको छैन । आयो भने पनि के भनेर आउने हो ? पढेर पास हुँदा ट्रान्सक्रिप्ट पाइने हो वा होइन ? पाइयो भने पनि के भनेर पाइने हो ? लाइसेन्स पाइने हो वा होइन ? पाइने हो भने के भनेर पाइने हो ? यावत् प्रश्न छन्,’ शर्माले भनिन् । १० महिनासम्म कार्यक्रम सञ्चालनका लागि प्रपोजल नै पास नभएको विषय आफूहरूले पढिरहेको शर्माको भनाइ छ । ‘हामीले अहिलेसम्म न कोर्षको आधारमा पढ्न पायौँ, न कुन विषय नै हो भन्ने प्रस्ट हुन सकेको छ । बीएससी मिडवाइफ्रीको करिकुलमलाई बीएमसको भनेर दिइयो । एउटा करिकुलमले दुई वटा कार्यक्रम स्वीकृत हुने देखियो । त्यस्तो हो भने दुई वटा कार्यक्रम किन राखियो ?’ उनले प्रश्न गरिन् ।स्ववियु सभापति नोविना बस्नेतले पीसीएल पढेर आएका विद्यार्थीहरूलाई बीएमएसका लागि भनेर बोलाइएको बताइन् । ‘विद्यार्थीहरू पढिरहेका थिए । तर, ठोस करिकुलम थिएन । ठोस करिकुलम प्रिन्टिङ प्रेसबाट छापिएर आउँछ, त्यतिञ्जेल पढ्नुस् भनियो । ६ महिनामा कोर्ष सकियो । परीक्षा हुने बेला बीएससी मिडवाइफ्री भनेर आयो,’ बस्नेतले भनिन् । नर्सिङका कुनै पनि कोर्ष सेमेस्टर प्रणाली अनुसार नभएको भन्दै उनले बीएमएसका विद्यार्थीको हकमा मात्रै सेमेस्टर प्रणाली र ४ वर्षे कोर्ष रहेको बताइन् ।सेमेस्टर प्रणाली अनुसार नहुँदा परीक्षामा समस्या देखिएपछि इन्टरनल एसिसमेन्ट भनियो र पछि डीन कार्यालयबाट फाइनल परीक्षा हुने भनेर विद्यार्थीहरूलाई आश्वासन दिइयो । गत वैशाख २ मा आएका विद्यार्थीहरूको हातमा फागुन २ सम्म पनि पाठ्यक्रम नै नभएको बस्नेतको भनाइ छ । उनीहरूले पढिरहेको विषय नर्सिङ काउन्सिलले मान्ने वा नमान्ने प्रमुख प्रश्न रहेको पनि उनले बताइन् ।महाराजगञ्ज नर्सिङ क्याम्पसका प्रमुख प्राध्यापक मुना राना थापाले डीन कार्यालयमार्फत उक्त विषय मिलाउने काम भइरहेको बताइन् । त्यसका लागि आईओएमकी डीन आफैँ खटिएर काम गरिरहेको उनको भनाइ छ । क्याम्पसले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरेर डीन कार्यालयमा बुझाएर र डीन कार्यालयबाट समेत काम भइरहेको उनले बताइन् ।यो कोर्षका लागि प्लस टुबाट समेत विद्यार्थी आउनुपर्नेमा नआएर पीसीएल पृष्टभूमिबाट मात्र आएको थापाको भनाइ छ । पीसीएलबाट विद्यार्थी पठाएपछि बीएससी मिडवाइफ्री नभइ ब्याचुलर मिडवाइफ्री साइन्स हुने उनको भनाइ छ ।फूहरूले उक्त कुरा समावेश गर्नका लागि डीन कार्यालयमा पठाइसकेको पनि उनले प्रस्ट पारिन् । करिकुलम पनि त्यही आधारमा बनाउन लागिरहेको तर विद्यार्थीहरूमा धैर्यता नभएको उनले बताइन् ।‘पाठ्यक्रम पहिला नै तयार थियो । तर, त्यसमा पीसीएल नर्सिङ-प्लस टु भनेपछि त्यो करिकुलम दुवैका लागि लागु हुने भयो । विद्यार्थी प्लस टुबाट नभइ पीसीएलबाट आएकाले अलि समस्या देखियो,’ उनले भनिन् ।विद्यार्थीहरू २० गतेदेखि ड्युटीमा नगएको र पढ्नसमेत नगएको उनको भनाइ छ । ‘यो समस्याका विषयमा डीन म्याम आफैँ लाग्नुभएको छ । यो समस्या चाँडै समाधान हुन्छ,’ क्याम्पस प्रमुख थापाले भनिन् । चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्राडा दिव्या सिंह शाहले गत वर्षदेखि ब्याचुलर इन मिडवाइफ्री भनेर नयाँ कार्यक्रम चलिरहेको बताइन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० हजार मिडवाइफ्रीको आवश्यकता औँल्याएको थियो । सोही आधारमा गत वर्षदेखि नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ ।काठमाडौँ विश्वविद्यालय लगायतमा यसअघि नै उक्त कार्यक्रम सञ्चालनमा आइसकेको थियो । डीन कार्यालयले सोही आधारमा पाठ्यक्रम बनाएर कार्यक्रम अगाडि बढाएको उनले बताइन् ।शाहका अनुसार उक्त कार्यक्रमका लागि पीसीएल नर्सिङ र प्लस टु साइन्स पढेका विद्यार्थीहरूले पढ्न पाउने भन्ने थियो । पीसीएल र प्लस टु दुवै पृष्ठभूमिबाट आएका विद्यार्थीलाई लक्षित गरेर उक्त कार्यक्रमको पाठ्यक्रम तयार पारिएको उनको भनाइ छ ।तर, गत वर्ष प्लस टु बाट नभई पीसीएस ब्याकग्राउण्डका मात्रै १४ जना विद्यार्थी भर्ना भएका थिए । जसले गर्दा उक्त पाठ्यक्रममा विद्यार्थीहरूले प्रश्न उठाएको उनले बताइन् ।‘हामीले प्लस टुबाट पनि लिनुपर्छ भनेर पाठ्यक्रम बनाएका थियौँ । पोहोर साल पीसीएलतिरको मात्रै विद्यार्थी आए । नयाँ सेमेस्टरमा प्लस टुको तर्फबाट आएका छन् । उनीहरूको केही समस्या देखिएको छैन । गत वर्षका विद्यार्थीहरूले मात्रै प्रश्न उठाएका हुन्,’ डीन शाहले भनिन् ।शाहले पाठ्यक्रमको नाममात्रै फरक रहेको तर डिग्री एउटै भएको बताइन् । ‘जुन स्किमबाट आए पनि काम एउटै हो । खाली करिकुलम मात्रै फरक देखिएको हो,’ उनले भनिन्, ‘काम गर्ने पनि सेम नै हो । खाली डिग्रीमात्रै हो । यसमा ठुलो मुद्दा हो जस्तो लागेको छैन,’ डीन शाहले भनिन् ।