एड्सलाई प्राणघातक रोगका रूपमा लिने गरिन्छ । एकपटक भाइरसको सङ्क्रमण भइसकेपछि निको नहुने यो रोगका बारेमा समाजमा अझै पनि खुलेर बोल्ने वा बहस गर्न मान्छे हिचकिचाउने गदर्छन् । यद्यपि यो रोग प्राणघातक भए पनि समयमै उपचार गर्ने हो भने सङ्क्रमितको आयुमा कुनै पनि असर नपर्ने चिकित्सकहरू बताउँछन् । सङ्क्रमण भए पनि एचआईभीको आफ्नै लक्षण नहुने र जब एचआईभीका भाइरसहरू शरीरमा प्रवेश गर्छन् तिनीहरूले रोगसँग लड्ने क्षमतालाई ह्रास गर्दै लैजाने र अन्य रोगको सङ्क्रमणपछि मात्र यो रोग लागेको थाहा हुने गर्दछ । त्यसैले व्यक्तिका गतिविधि र रोगका बारेमा शङ्का लागि रगतको परीक्षण गरी बेलैमा उपचारको पहलमा लाग्न चिकित्सकहरूको सुझाव रहेका छ । यही एचआईभी र एड्सका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुकी मेडिकल अफिसर डा. लिना देवकोटासँग गरिएको अन्तर्वार्ता :
एचआईभी एक किसिमको भाइरस हो जसले मानिसको शरीरभित्र छिरेपछि सङ्क्रमण निम्त्याउँछ । एचआईभीले मुख्य गर्ने भनेको हाम्रो शरीरमा भएको रोगसँग लड्ने क्षमतालाई ह्रास गर्दै लान्छ । यदि समयमा उपचार भएन भने एचआईभी भाइरसले हाम्रो रोगसँग लड्ने क्षमता घटाउँदै लाग्छ र अन्य अवसरवादी रोगहरू लाग्छन् । अन्य अवसरवादी रोगहरू भन्नाले जसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता धेरै छ उसलाई असर नगरी जसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम छ उनीहरूलाई रोग देखा पर्ने, त्यस्तोलाई अवसरवादी रोग भनिन्छ । अवसरवादी रोग लागेको अवस्थालाई हामी एड्स भन्छौँ । जुन एउटा एचआईभी सङ्क्रमित व्यक्तिले उपचार गरेन भने ७ देखि १० वर्षसम्ममा एड्स देखापर्छ ।
एचआईभी र एड्स सङ्क्रमण कसरी हुन्छ ?
एचआईभी सङ्क्रमण सर्ने मुख्य कारण भनेको एचआईभी सङ्क्रमितसँग असुरक्षित यौन सम्पर्कमार्फत, एचआईभी सङ्क्रमित आमाबाट गर्भमा रहेको बच्चालाई, एचआईभी सङ्क्रमित व्यक्तिहरूसँग सिरिञ्ज वा सुईको सट्टापट्टा गर्दा, रगतको लेनदेन गर्दा, एचआईभी सर्न सक्छ । यी तीनवटा कारण बाहेक अरू कुनै कारणबाट एचआईभी सर्दैन ।
पहिला हामीले के बुझ्नु पर्छ भन्दा यदि आफू उल्लेखित तीनवटा मध्ये कुनै जोखिममा परिएको छ भने आफ्नो अवस्था बुझ्नका लागि जाँच गर्नुपर्छ । एचआईभी सङ्क्रमण छ वा छैन भनेर थाहा पाउन सजिलो भनेको रगतको जाँच हो । रगतको जाँच गरेमा थाहा भइहाल्छ ।
यसका लक्षणहरू के हुन्छन्?
एचआईभी सरिसकेपछि सुरुवाती दिनमा हल्का रुघाखोकी लागेको जस्तो हुन्छ । त्यसपछि ७ देखि १० वर्षसम्म कुनै लक्षण देखिँदैन । एचआईभीको आफ्नै लक्षण हुँदैन, एचआईभीले जब हाम्रो शरीरसँग लड्ने क्षमतालाई ह्रास गर्दै लग्छ, तब अवसरवादी रोग लागिसकेपछि त्यसले देखाउने लक्षणलाई हामीले एचआईभीको लक्षण भन्छौँ ।
उपचारका विधि के के हुन्छ ?
एचआईभीको उपचारका लागि ‘एन्टी रेट्रो भाइरल थेरापी’ भनिन्छ जसमा ३ किसिमको औषधी एउटै पिलमा मिक्स भएर आउँछ । यो औषधि दिनमा एकचोटि मात्र तर जिन्दगीभरलाई खानुपर्ने हुन्छ । यसले एचआईभीको भाइरसलाई कन्ट्रोलमा राख्छ, मानिसको रोगसँग लड्ने क्षमतामा ह्रास आउँदैन र हामी अवसरवादी रोगबाट बच्छौँ ।
यो रोग लागेपछि निको हुँदैन भन्छन् नि?
रोग निको नभए पनि एचआईभी भइसकेपछि मरिहाल्छु कि भन्ने मान्यता राख्ने गरिएको छ, यो चाहिँ गलत हो । एचआईभी भए पनि यदि समयमै त्यसको पहिचान गरेर उपचार गरियो भने सङ्क्रमितको आयुमा कुनै ह्रास हुँदैन ।
एचआईभी रोगबाट बच्ने उपाय के के हुन्छन् ?
असुरक्षित यौन सम्पर्कबाट बच्नु नै एचआईभीबाट बच्ने मुख्य उपाय हो । कण्डमको प्रयोग सधैँ गर्नुपर्छ । कण्डमले एचआईभीलगायत यौन सम्पर्कबाट सर्ने सबै रोगबाट जोगाउँछ । कण्डमको प्रयोग राम्रो ढंगले गर्न सिक्नुपर्छ । सुई, सिरिञ्जहरुको सट्टापट्टा गर्नु भएन ।
एचआईभी सङ्क्रमितहरूले बच्चा जन्माउन कतिको सुरक्षित हुन्छ ?
सङ्क्रमित महिलाहरूले राम्रोसँग औषधि खानुभएको छ, भाइरल लोड भन्ने जाँच गर्दा राम्रो नतिजा आएको छ र औषधि पनि सधैँ खाइरहनु भएको छ भने बच्चालाई जोखिम हुँदैन । बच्चालाई भविष्यमा पनि एचआईभी पोजेटिभ देखिँदैन ।