नेपालले आफ्नो फुटबल इतिहासमै बिहीबार त्यस्तो हार बेहोरेको छ, जसलाई सर्वथा बिर्सनलायक मानिनेछ । यो यस्तो हार हो, जसलाई खराब उदाहरण मानेर जहिल्यै पनि सम्झिने छ । साफ यू–१६ वुमन्स च्याम्पियनसिपमा नेपाल घरेलु भूमिमै भारतको हातबाट १०–० ले पराजित रह्यो । नेपालले घरेलु भूमिमा बेहोरेको यो सबै खाले र स्तरको प्रतियोगितामा सबैभन्दा खराब प्रदर्शन रहनेछ ।यो हारले प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ । नेपालसामु यो खेल जितेर फाइनल प्रवेशको अवसर थियो । तर उल्टै नेपाल ठूलो अन्तरको हार बेहोर्न बाध्य रह्यो । जितले भारत फाइनल पुगेको छ । राउन्ड रोबिनको आधारमा सञ्चालित प्रतियोगितामा चारै टिममात्र समावेश छन् । लिग चरणको अन्त्यमा शीर्ष दुईमा रहने टिम फाइनल पुग्नेछ ।अब फाइनलमा भारतले बंगलादेशसँग खेल्नेछ । दुवै समान ६ अंकमा रहे । नेपालको यो दोस्रो हार हो । भुटानले पनि आफ्ना सुरुआती दुवै खेल गुमाएको थियो । भुटानको चुनौती समाप्त भइसकेको छ । अब लिग चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटानको सामना गर्नेछ । फाइनल आइतबार हुनेछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भारतबाट पर्ल फनान्डेज र गुलरिन कौर सिधुले समान दुई गोल गरे । अनिता डुङडुङ, अनुष्का कुमारी, बोनिफिला सुलाई, गुरनाज कौर र रेहना लिज ज्याकोबले १–१ गोल गरे । थप एक गोल भने मीनमाया श्रेष्ठको नाममा आत्मघाती रह्यो । नेपालले पहिलो हाफमै ६ गोल खाएको थियो ।