पाल्पाको रामपुरमा भइरहेको पहिलो संस्करणको लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत आइतबार चार खेल हुँदैछ । पहिलो खेल कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ । दोस्रो खेल वाग्मती प्रदेश र मधेश प्रदेशबीच हुनेछ भने तेस्रो खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब र गण्डकी प्रदेशबीच हुने छ । चौथो खेल सुदूरपश्चिम र कोशी प्रदेशबीच हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेले जानकारी दिए । त्यसअघि शनिबार मौसम खराबीले गर्दा रोकिएको सुदूरपश्चिम र मधेश प्रदेशबीचको खेल हुनेछ । शनिबारको खेलमा २–१ को सेटमा खेल रोकिएको छ ।आइतबारको समूह चरणका खेल सकिनेछ । प्रतियोगितामा वाग्मती प्रदेश र एपीएफले दोस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेका छन् । शनिबारको खेलमा वाग्मतीले कोशी र एपीएफले लुम्बिनी प्रदेशलाई हराएका हुन् । सोमबार सेमिफाइनल खेल र मंगलबार फाइनल खेल हुने आयोजकले जनाएको छ ।सहभागी आठ समूहमध्ये समूह ‘ए’ तर्फ एपीएफ क्लब, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छ भने समूह ‘वि’ तर्फ वाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश रहेको छ । राष्ट्रिय खेलकुद परिषद् लुम्बिनीको मुख्य प्रायोजन, जिल्ला खेलकुद विकास समिति पाल्पाको समन्वय तथा जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा भएको प्रतियोगिता लिग नकआउटको आधारमा खेलाइएको छ ।प्रतियोगितामा विजेता हुने प्रथम, द्वितिय, तृतीय र सान्त्वना समुहले क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।