जिल्लाको भलिबल खेलको संस्थागत विकास तथा प्रर्वद्धन गर्न प्रवासीहरूले ४३ लाख रुपैयाँभन्दा बढीको अक्षय कोष स्थापना गरिदिएका छन् । म्याग्दीको सर्वाधिक लोकप्रिय र बढी खेलिने भलिबल खेलको संस्थागत विकास गर्ने र खेलाडी प्रोत्साहन गर्न बेलायतमा बसोबास गर्ने म्याग्दीवासीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय समिति युकेले एक करोड धनराशिको ‘भलिबल अक्षयकोष’ स्थापना गर्न ४३ लाख ६१ हजार ३ सय ९९ रुपैयाँ नगद सहयोग गरेको छ ।मोना युकेका अध्यक्ष कुमार फगामीले बुधबार बेनीमा एक कार्यक्रम गरी म्याग्दी भलिबल संघलाई उक्त रकम हस्तान्त्रण गरेका हुन् । त्यसैगरी म्याग्दी भलिबल संघको ‘भलिबल अक्षय कोष’कालागी मोना अर्न्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष दधिवल खड्काले एक लाख, मोना राष्ट्रिय समिति कुवेलले ५० हजार, यूएईमा कार्यरत भलिबल खेलाडी प्रकाश कार्कीले पनि २० हजार सहयोग गरे ।म्याग्दी भलिबल संघले १ लाख २० हजार रुपैयाँ राखेर स्थापना गरेको ‘म्याग्दी भलिवल अक्षय कोष’ १ करोड धनराशि पुर्याउने लक्ष्य छ । कोषमा हालसम्म ४६ लाख ५१ हजार ३ सय ९९ रुपैयाँ रकम जम्मा भएको संघका सचिव एवं जिल्लाका भलिबल खेलाडी कुमार किसानले बताए ।कोषबाट प्राप्त आम्दानीको जगमा जिल्लामा अन्य आर्थिक स्रोत परिचालन गरी जिल्लाका विभिन्न बस्तीमा भलिबल प्रशिक्षण सञ्चालन गर्ने, प्रतिभावान खेलाडी छनौट गरी थप प्रशिक्षण गराई आन्तरिक, राष्ट्रिय तथा अर्न्तराष्ट्रिय भलिबल खेलमा ‘एक्सपोज’ गराउने उद्धेश्यले कोष स्थापना गरिएको संघले जनाएको छ ।