नेकपा(माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । गठबन्धन दल कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने तयारी गरिरहेको बेला माओवादी आफैंले उम्मेदवारी दिने निर्णय गरेको हो ।माओवादीको स्थायी कमिटी बैठकमा मंगलबार अधिकांश नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेका छन् ।राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ मा हुँदैछ । पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने योजनाका साथ कांग्रेसले राष्ट्रिय सभामा प्रवेश गराएको महामन्त्री विश्वप्रकाश शर्माले कान्तिपुरसँग बताएका थिए। माघ ११ मा १९ पदका लागि भएको निर्वाचनमा सिटौला कोशी प्रदेशबाट निर्वाचित भएका हुन् ।शर्मा माओवादी र कांग्रेसबीचकै समझदारीमा राष्ट्रिय सभा सदस्यका लागि सिटौलालाई अघि सारिएको दाबी गर्छन् । तर माओवादी महासचिव देव गुरुङ भने राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिने कुनै सहमति नभएको बताउँछन् । कान्तिपुरसँगकै कुराकानीमा उनले भनेका छन्, ‘कुराकानीका क्रममा प्रसंग चले होलान्, तर औपचारिक तहमा कुनै सहमति भएको होइन/छैन भन्ने कुरा नै अध्यक्षज्यूको छ ।’