बुटवलमा मंगलबारबाट छैटौं राष्ट्रिय बुटवल ओपन तथा दोस्रो मेयर कप प्रतियोगिता सुरु हुँदैंछ । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिताको सोमबार सम्पूर्ण तयारी पूरा भएको छ । रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीका अनुसार प्रतियोगितामा सहभागिताका लागि मुलुकभरबाट विभिन्न उमेर समूहका १०७ खेलाडी बुटवल आइसकेका छन् । उनीहरूले सोमबार देवीनगरस्थित टेनिस कोर्टमा अभ्यास थालेपछि प्रतियोगिताको रौनक सुरु भएको छ । ज्ञवालीका अनुसार प्रतियोगितामा काठमाडौं, पोखरा, रुपन्देहीका साथै दक्षिण कोरियाका दुई जना खेलाडी सहभागी छन् । रुपन्देहीका २१ खेलाडीले प्रतिस्पर्धामा भाग लिने उनले बताए ।गत वर्ष महिला र पुरुष एकल स्पर्धाका विजेता अभिलाषा विष्ट र प्रदीप खड्का समेत आइसकेका छन् । ‘सबै खेलाडी बुटवल आइसकेका छन्,’ज्ञवालीले भने, ‘प्रतियोगिता सञ्चालनका लागि प्राविधिक लगायत सबै तयारी पूरा भइसकेका छन् ।’ प्रतियोगिता संयोजक सागर थापाले काठमाडौंबाहिर पोखरापछि बुटवलमा राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुँदै आएको बताए । यहाँका खेलाडीले आफ्नै खर्चमा २०७५ सालबाट बुटवल ओपनको सुरुवात गरेका थिए ।दुई वर्षयता बुटवल उपमहानगरले प्रतियोगिताका लागि बजेट विनियोजन गरिरहेको छ । गत वर्ष चार लाख रुपैयाँ उपलब्ध गराएको थियो । यसपटक उपमहानगरले प्रतियोगिताका लागि आठ लाख रुपैयाँ विनियोजन गरेको थापाले बताए ।