विपक्षीको २ बजेसम्मको अल्टिमेटम
यता विपक्षी दलहरूले सहमति कार्यान्वयनका लागि २ बजेसम्मको अल्टिमेटम दिएका छन् । प्रदेशसभा बैठक सञ्चालन हुनु पूर्व सहमति अनुसारको प्रक्रिया अघि बढाउने गरी सरकारले तयारी गर्नुपर्ने विपक्षी दलहरूको भनाई छ ।सहमति अनुसार काम हुन नसकेको खण्डमा प्रदेशसभा बैठक अघि बढ्न नसक्ने विपक्षी दलहरूको चेतावनी रहेको छ । विपक्षी दल राप्रपा संसदीय दलका नेता उद्धव थापाका अनुसार सरकारले विपक्षी दलहरूलाई अवमूल्यन गर्ने गरी अघि बढेको छ । सरकारको गैर जिम्मेवार ढङ्गबाट अघि बढेको उनले बताए ।पूर्व निर्धारित सहमति कार्यान्वयन नगरेर सरकारले बहाना बाजी गरिरहेको उनको भनाई छ । सरकार कर्मचारी, अख्तियार र सर्वोच्च अदालतलाई देखाएर विपक्षी दलहरूसँगको सहमति कार्यान्वयनमा तर्किरहेको उनले बताए । मंगलबार २ बजेसम्म सरकारले विपक्षी दलहरूसँगको सहमति कार्यान्वयन नगरेको खण्डमा अवस्थाले अर्को मोड लिन सक्ने उनले बताए ।सर्वदलीय बैठकमा कर्मचारीहरूलाई पनि सहभागी गराइएको थियो । बजेट भागबन्डाबारे देखिएको विवादबारे समाधान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका २ सचिव र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव र उपसचिव सहभागी भएका थिए । सर्वदलीय बैठकमा प्रदेश सरकारका मुख्य सचिव घनश्याम उपाध्याय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव विनोद भट्टराई, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रकाश दाहाल, सोही मन्त्रालयका उपसचिव लक्ष्मीकुमार रिमाल सहभागी थिए ।कर्मचारीहरूले बजेटका सम्बन्धमा सत्ता पक्ष र विपक्षबिच भएको सहमति र त्यसको कार्यान्वयनमा देखिएका जटिलताबारे जानकारी गराएका थिए । उनीहरुले सरकार र प्रतिपक्ष दलहरू बिच भएको राजनीतिक सहमति कार्यान्वयन गर्न प्रक्रियागत जटिलता रहेको र सो समस्या समाधानका लागि सांसदबाट प्रस्तावका रूपमा ल्याउन आग्रह गरेका थिए ।बागमती प्रदेशसभा बैठक मंगलबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको छ । सरकार र प्रतिपक्ष दलहरू बिच सहमति नभए बैठक चल्न सक्ने अवस्था छैन । मंगलबारको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रहरु, शोक प्रस्ताव र दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।