- संसद्का महासचिवको दोहोरो नागरिकता, दोहोरै राहदानी
- नैतिक प्रश्न उठाउँदा सांसदहरूको विरोधाभास : विवादित निकटस्थको प्रतिरक्षा, इतर पक्षमाथि आलोचना
के हो महासचिव पाण्डेयको नागरिकता र राहदानी प्रकरण ?
पाण्डेयले २०६६ सालमा आफ्नो उमेर ६ वर्ष घटाएर नागरिकता लिएको सार्वजनिक भएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विषयमा छानबिन गरिरहेको छ । पाण्डेयले ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिएका थिए भने सोही नागरिकता दुरुपयोग गरेर दुईथरी राहदानी बनाएका थिए ।पाल्पा जिल्ला प्रशासन कार्यालयका अनुसार पाण्डेयले २०४६ असार २८ मा पहिलो पटक नागरिकता (नम्बर ३५) लिएका थिए र त्यसमा उनको जन्ममिति २०२६ असोज १५ कायम छ ।नागरिकता हराएको भन्दै पाण्डेयले २०६६ भदौ ८ मा दोस्रो नागरिकता लिएका थिए, यसपटक भने उमेर ६ वर्ष घटाएर २०३२ पुस २६ कायम गरेका थिए । २०६७ मा महान्यायाधिवक्ता कार्यालयमा सहन्यायाधिवक्तामा सेवा प्रवेश गर्दा पहिलो नागरिकता देखाएका उनले त्यसको एक वर्षअघि लिएको दोस्रो नागरिकता भने १० वर्षसम्म आफूसँगै राखेका थिए ।उनले २०७६ भदौ २३ मा भने भूलवश विवरण फरक परेको भन्दै दोस्रो नागरिकता रद्द गराएका थिए । सुरुमा लिएको नागरिकताको प्रतिलिपिका रूपमा उनले ३९–०१–७६–०५५१५ नम्बरको नागरिकता पाएका थिए । त्यसबीचको १० वर्ष उनले दुवै नागरिकता प्रयोग गरेर भिन्नाभिन्नै राहदानी लिएका थिए ।२०६६ मा उमेर घटाएर नागरिकता लिएको तीन वर्षपछि उनले सोही नागरिकताका आधारमा राहदानी बनाएका थिए । २०६९ साउन २ (१७ जुलाई २०१२) मा उनले पाल्पा जिल्ला प्रशासन कार्यालयबाट ०६०१८३७० नम्बरको ‘साधारण राहदानी’ लिएको अभिलेख परराष्ट्र मन्त्रालयले संसद्को राज्य व्यवस्था समितिलाई दिएको छ ।जिल्ला प्रशासन कार्यालय पाल्पाबाट ‘साधारण’ राहदानी लिएको पाँच महिना पूरा नहुँदै उनले २०६९ मंसिर २० (५ डिसेम्बर २०१२) मा राहदानी विभाग काठमाडौंबाट ००५९४४९ नम्बरको ‘विशेष’ राहदानी लिएको पनि भेटिएको छ । तर, यो राहदानीमा भने उनले पुरानै नागरिकताको विवरण बुझाएका छन् । यसरी उनको साधारण राहदानीमा जन्ममिति २०३२ पुस २६ र विशेष राहदानीमा जन्ममिति २०२६ असोज १५ छ ।६ वर्ष उमेर घटाएको, पुरानो नागरिकता भेटिएपछि पनि दोस्रो नागरिकता १० वर्षसम्म आफूसँग राखेको मात्र होइन, दुवै नागरिकताबाट दुईथरी राहदानी बनाएको विषयमा संसद्को राज्य व्यवस्था समितिले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट कागजात झिकाएको छ । समितिले छानबिनका लागि कागजात झिकाइरहँदा पाण्डेय सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को महासचिव नियुक्त भएका थिए ।पाण्डेयलाई महासचिव बनाउन तत्कालीन महासचिव भरतराज गौतमलाई कार्यकाल बाँकी छँदै राजीनामा गर्न लगाइएको थियो । सभामुख र राष्ट्रिय सभा अध्यक्षको संयुक्त सिफारिसमा संसद्को महासचिव राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकाल फागुन २० मा सकिँदैछ । त्यसैले गौतमलाई राजीनामा गराएर आफू निकटका पाण्डेयलाई घिमिरे र तिमिल्सिनाले महासचिवमा सिफारिस गरेका थिए । उक्त सिफारिस कानुनी रित नपुगी भएको भन्दै राष्ट्रपतिले २ महिना रोकेका थिए ।