
नेकपा एमाले कर्णालीमा देखिएको विवादको विषयमा अध्यक्ष केपी शर्मा ओलीले विशेष चासो दिँदै लगातार तीन दिनसम्म छलफल गरेका छन् । छलफलका लागि ओलीले केन्द्रीय पार्टी कार्यालयमा कर्णालीका नेताहरूलाई बोलाएका थिए । बिहीबारदेखि शनिवारसम्म पटक पटक भएको छलफलमा प्रदेश इन्चार्ज एवम् पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य यामलाल कँडेल, गोरख बोगटी, पोलिटब्युरो सदस्यहरू, केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र प्रदेश अध्यक्षको उपस्थिति थियो । ओलीले विशेषगरि यसअघिका निर्वाचनको परिणाम, प्रदेको प्रथम अधिवेशनदेखि देखिएको विवादका विषयमा रहेर व्यापक छलफल गरेका थिए । प्रदेशमा देखिएको समस्याको विषयमा नेताहरूले ओली समक्ष सुरुमा कुरा राखेका थिए । प्रदेश अध्यक्ष गुलाबजंग शाहले यसअघिको विवाद समाधान भएको र पार्टी एक ढिक्का भई अघि बढ्ने निष्कर्ष निकालिएको रातोपाटीलाई बताए ।ओलीले गत असोज १०–१५ गतेसम्म भएको प्रदेश अधिवेशनदेखिनै कर्णालीमा समस्या देखिन थालेको कुरा सुरुमै राखेका थिए । साथै ओलीले अधिवेशन पहिला पोलिटब्युरो तहका नेताहरू आफुकहाँ आएको र केही निर्देशन दिएको पनि बताएका थिए । पोलिटब्युरो तहबाट आफूहरूले प्रदेशको नेतृत्वका लागि लड्छौँ भन्ने कुरा ओली समक्ष राखेका थिए । बैठकमा सहभागी एक नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘मैले हैन दुई तह तल किन जानुहुन्छ, यो हुँदैन भनेर पठाएको थिएँ । तर, ठिक त्यसको विरुद्धमा केपी ओलीलाई देखाइदिने हो भनेर लाग्नुभयो, तपाईँहरू त कोहो केपी ओली ? भनेर मेरो भनाइ विपरीत लाग्नुभयो ।’