नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय परिषद बैठक सुरु भएको छ । आइतबार प्रज्ञाभवन कमलादीमा सो पार्टीको केन्द्रीय परिषद् बैठक सुरु भएको हो । सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन् । केन्द्रीय परिषदमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज मस्यौदा सम्बन्धमा छलफल हुने जनाइएको छ । दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने जनाइएको छ ।