भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक शुरुआत गरे ।सन् १९४७ अगष्ट १५ मा भारतलाई स्वतन्त्र राष्ट्र घोषणा गरिएको भएपनि सन् १९५० जनवरी २६ मा संविधान जारी गरी भारतले आफूलाई सार्वभौम, लोकतान्त्रिक र गणतान्त्रिक राज्य घोषणा गरेको थियो । यसै दिनको सम्झनामा हरेक बर्ष जनवरी २६ मा भारतमा गणतन्त्र दिवस मनाउने गरिन्छ ।७५ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहस्थलमा राष्ट्रपति मुर्मू र प्रमुख अतिथि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । उनीहरूलाई राष्ट्रपति मुर्मूका अङ्गरक्षकको सुरक्षा घेरामा राष्ट्रपति भवनतर्फ लगिएको थियो ।राष्ट्रपतिको अङ्गरक्षक भारतीय सेनाको सबैभन्दा शीर्षस्थ सैन्य इकाई हो । गणतन्त्र दिवसमा यस शीर्षस्थ सैन्य इकाइको भूमिकालाई विशेष मानिन्छ किनकि यसको स्थापना सन् १७७३ मा भएको र सेवाको २५० वर्ष पूरा गरेको छ ।राष्ट्रपतिका सुरक्षागार्डका कमान्डेन्ट कर्णेल अमित बर्वाल राष्ट्रपतिको बग्गीको दाहिनेतिर चढेर घोडसवारहरूको यो प्राचिन सैन्य इकाईको नेतृत्व गरेका थिए । समारोहमा राष्ट्रगान बजाइएको थियो र राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो ।भारत भ्रमण गरौँ र प्रजातन्त्रकी जननी भारत भन्ने दुई नाराका साथ आयोजित समारोहमा चार दशकको अन्तरालपछि पुनरागमन भएको ‘परम्परागत बग्गी’ सवारीमा दुई राष्ट्रपतिलाई कर्तव्य पथबाट राष्ट्रपति कार्यलयतर्फ लगिएको थियो ।यसपटकको सैन्य परेडमा पहिलो पटक महिला त्रिसैनिक दस्ताले भाग लिएको थियो भने १६ वटा राज्य र केन्द्र शासित प्रदेशले पनि सांस्कृतिक प्रस्तुति र झाँकीमार्फत् आफ्नो सम्पदा विविधता प्रदर्शन गरेका थिए ।यसअघि परेडमा फ्रान्सेली सेनाको एक टुकडीले पनि भाग लिएको थियो । सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित आयोजित समारोह शुक्रबार नै समापन भएको छ ।भारतको सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनपछि कर्तव्य पथमा सैन्य प्रदर्शनसहित राष्ट्रपति मुर्मू र गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि तथा उनका फ्रान्सेली समकक्षी म्याक्रोँलाई राष्ट्रपति भवनतर्फ लगेपछि गणतन्त्र दिवसको औपचारिक समारोह सम्पन्न भएको हो ।गणतन्त्र दिवसका अवसरमा शुक्रबार देशभरी र देशबाहिर रहेका कुटनीतिक नियोग तथा समुदायले पनि विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाएका छन् ।