राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ । मकवानपुरको हेटौँडामा बिहान नौ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दा अन्तिम चरणमा पुगेको हो ।राष्ट्रियसभा सदस्य निर्वाचन बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलकाअनुसार मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।उनका अनुसार मतदाता रहेका प्रदेशसभा सदस्य ११० जना मध्ये ९९ जनाले मतदान गरिसकेका छन् । त्यस्तै २३७ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये २२९ जनाले पनि मतदान गरिसकेका छन् । निर्वाचन अधिकृत सन्जेलले नौ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएकाले ३ बजेसम्म नै मतदानका लागि पर्खने बताए ।बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन् ।नुवाकोटको किस्ताङ गाउँपालिकाका अध्यक्ष चेक बाउन्सको मुद्दा परेकाले उनी भने निर्वाचनमा सहभागी हुन गएका छैनन् । त्यस्तै काभ्रेको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा बिरामी भएकाले मतदानमा सहभागी भएका छैनन् ।काठमाडौँका मेयर बालेन साह पनि मतदानमा सहभागी छैनन् । हाम्रो नेपाली पार्टीका २ सांसद शैलेन्द्र बज्राचार्य र सरिता खड्गी पनि मतदानमा सहभागी भएका छैनन् । यो सबै जोड्दा १६३ मतभार घट्ने भएको छ ।