Home » प्रधानमन्त्रीको प्रश्न : ५ करोडको ठाउँमा २० करोड लिँदा कसरी राष्ट्रहितविपरीत हुन्छ ?
प्रधानमन्त्री पुष्पकमल दाहाल भारतले नेपालमा २० करोड रुपैयाँसम्म खर्च गर्न पाउने सहमति राष्ट्रहितविपरीत नभएको दाबी गरेका छन् ।प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बुधबार प्रधानमन्त्री दाहालले विगतमा ५ करोड लिँदा राष्ट्रहितविपरीत नहुने अहिले २० करोड लिँदा चाहिँ राष्ट्रहित विपरीत कसरी हुन्छ भन्दै सांसदहरूलाई नै प्रश्न गरेका छन् ।‘५ करोड लिँदा राष्ट्रहितविपरीत नहुने २० करोड लिँदा चाहिँ राष्ट्रहित हुन्छ ? हुँदैन,’ उनले भने,’५ करोड त लिइँदै त आइएको छ त ! सदनमा त यो विषयमा छलफल हुन्छ । यो सदनद्वारा अनुमोदित कुरा हो । सैद्धान्तिक रूपमा यो हुँदै आएको हो’ प्रधानमन्त्री दाहालले भने,’यो सहमति विदेशमन्त्री आउँदा सार्वजनिक भए पनि यो निर्णय त सरकारले २०/२५ दिन अघि नै गरेको हो ।’प्रधानमन्त्री दाहालले नेपाली जनताका हित र आकंक्षालाई भारतीय विदेशमन्त्री आउँदा कतिपय दर्होसँग राखिएको बताए ।समितिको बैठकमा एमालेका सचेतक महेश बर्तौलाले भारतसँगको सम्झौताले नेपालको स्वाभिमानको जरा काट्ने काम गरेको बताए । उनले सम्झौता जस्ताको तस्तै सार्वजनिक गर्न माग गरेका थिए ।‘नेपाल सरकारले नेपालको चारकिल्लाभित्र एक रुपैयाँ पनि खर्च गर्न पनि नेपालको संसदले अनुमोदन गर्नुपर्छ’, बर्तौलाले भने, ‘नेपालको बजेटरी सिस्टमबाहिरबाट पैसा आउने र खर्च गर्ने प्रणाली राष्ट्रघात हो । यो गम्भीर विषयमा सरकाल हल्का ढंगले लिन हुँदैन ।’