सिरहा । सिरहामा एक मिटरब्याज पीडितमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास भएको छ । कल्याणपुर नगरपालिका-८, अरङका संजयकुमार कामतीमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास भएको हो ।
मिटरब्याजीले कब्जा गरी अरूसँग बेचिसकेको घरमा आज दिउँसो ४ बजे उनी जान खोजेका थिए । त्यसैक्रममा घरजग्गा किनेका सोही स्थानका रामनारायण सिंह र उनका छोरा शैलेन्द्र सिंहले उनीमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास गरेका हुन् । घटनाबारे प्रहरीलाई जानकारी गराएपनि अहिलेसम्म प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन ।
यस विषयमा सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले अनभिज्ञता जनाएका छन् । कामतीले २०७३ सालमा कल्याणपुर-८, मझाउका लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत पंजियारले कामतीसँग ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारको दुई वटा तमसुक बनाए ।
आर्थिक रुपले विपन्न कामतीले ऋण तीर्न पैसा जोहो गरिरहेकै बेला पंजियारले अदालतबाट २०७८ सालमा १ बिघा एक कठ्ठा खेत, १ कठ्ठा ६ धुर घडेरी र एउटा घर गरी डेढ करोड बराबरको सम्पत्ति डाक लिलाम गराइहाले । त्यसमध्ये सिंहले १० कठा खेत, १६ धुर घडेरी र घर साहु पंजियारसँग कौडीको भाउमा किनेका थिए ।
सोही विषयमा पीडित कामतीले जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएका थिए । तर, सुनुवाइ नभएपछि उनी बाध्य भएर आज आफै घर फिर्ता लिन त्यहाँ पुगेका थिए ।