स्तरोन्नतिका लागि नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै कांग्रेससहितका दल तथा उद्योग वाणिज्य संघले शुक्रबार गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ भने ८ प्रहरीसहित १० जना घाइते भएका छन् । प्रदर्शनकारीले अचानक नगरपालिका कार्यालय र नगरप्रमुखको निवासमा ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यासका साथै हवाई फायर गरेको प्रहरीले जनाएको छ । प्रदर्शन नियन्त्रणमा लिन भन्दै प्रहरीले चलाएको गोली लागेर शुक्रबार बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो । घटनापछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाएको छ । बरहथवा–६ स्थित १५ शय्याको नगर अस्पताललाई स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै बरहथवा बजार क्षेत्रमा प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटवालको घरमा ढुंगामुढा गर्न थालेपछि अश्रुग्यास हानेसँगै हवाई फायर गरेको प्रहरीले बताएको छ । तर साहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो भने बरहथवा–८ का अभिशेष रामको पनि खुट्टामा गोली लागेर घाइते भएका छन् । प्रदर्शनका क्रममा भएको झडपमा ८ प्रहरीसहित १० जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले पनि प्रहरीको गोलीबाट एकको मृत्यु भएको बताए । शुक्रबार राति अबेरसम्म पनि शवलाई प्रदर्शनकारीले सरकारी अधिकारीसमक्ष बुझाएका छैनन् । गत असोज ९ को नगर कार्यपालिका बैठकले नगर अस्पताललाई ५० शय्यामा विस्तार गरी प्रादेशिक अस्पताल बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । कार्यपालिकाको उक्त निर्णयलाई भने नगरपालिकाले पुस १७ मा बसेको बैठकले स्थगन गरेको थियो । एमालेबाट निर्वाचित नगरप्रमुख कटवालले यसअघिको सहमतिलाई एकलौटी गरी उल्ट्याएको भन्दै कांग्रेस, जनता समाजवादी र जनमत पार्टीका नेता तथा कार्यकर्ता विरोधमा उत्रिएका थिए । विवाद समाधान गर्ने भनेर नगरपालिकाले शुक्रबार सर्वदलीय बैठक डाकेको थियो । तर एक्कासि दिउँसो ११ बजे नगरपालिकाले बैठक नै नबसी स्थगनको सूचना टाँस्यो । त्यसपछि नगरपालिकाको निर्णयसँग असहमत दल र स्थानीयहरू प्रदर्शनमा उत्रिएका थिए ।