प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित भारतीय दूतावासले नेपालमा आफूखुशी २० करोड रुपैयाँ सिधै खर्च गर्न नपाउने बताएका छन् ।शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको स्वीकार गर्दै दूतावसाले सिधै मनलाग्दी खर्च गर्न नपाउने बताएका हुन् । उनले भारतीय दूतावासले जहाँ मन लाग्छ त्यहीँ गएर लगानी गर्न नपाउने र त्यसको लागि प्रक्रिया रहेको बताए ।‘माननीयज्यूले राख्नुभयो यो निर्माण गर्दा भारतले मात्रै गर्ने हो की भन्ने यो होइन । त्यस्तो कुनै प्रावधान छैन । सरकार यो विषयमा गम्भीर छ, संवेदनशील छ । कुनैपनि देशले हाम्रो पावर प्रोजेक्ट अघि बढाउन सहयोग गर्नसक्छ, उनीहरूको लगानी हुनसक्छ, जताबाट लगानी भएर उत्पादन भएको भएपनि १० हजार मेगावाट लिने सम्झौता मात्रै भएको हो । अरु भएको होइन,’ उनले भने, ‘चीनको प्रतिनिधिमण्डल आउनेबारे भारतीय विदेशमन्त्रीले मसँग कुरा गरे भन्नेकुरा बिल्कुल सत्य होइन । एक शब्द पनि उच्चारण गर्नुभएन, मैले त्यसको बारेमा जवाफ दिनु पनि परेन । वान टु वानमा पनि कुनै चासो राख्नुभएन । २० करोडको बारेमा यहाँ अघि माननीयज्यूले भनेकै कुरा सत्य हो । ३ करोडबाट सुरु भएर ५ करोड हुँदै २० करोडसम्म भयो ।’प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा यो बारेमा लामो छलफल गरिएको पनि बताए । उनले भने, ‘भारतले जहाँ पायो, त्यहीँ लगानी गर्ने, जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने त छैन, त्यसको प्रक्रिया छ, प्रक्रियाबाट गएर मात्रै हुन्छ । यसलाई बढी व्यवहारिक बनाउनेमा मेरो ध्यानाकर्षण भएको छ ।’