हेटौंडा-काठमाडौं आवतजावत गर्ने छोटो दुरीका दुई वटा सडक सोमबारदेखि दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नका लागि २ महिनाका लागि बन्द गरिएको हो । कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले पुस १६ गते बिहानदेखि फागुन १५ गतेसम्मका लागि यातायात आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिकाले जनाएको छ ।उक्त खण्ड बन्द हुँदा वैकल्पिक सडकको व्यवस्था गरिएको छ । यातायातका साधनका लागि हेटौंडा भीमफेदी हुँदै कुलेखानीबाट इन्द्रसरोवरको सिस्नेरी–दक्षिणकाली तथा कुलेखानीको कलंकी हुँदै मार्खु र चित्लाङको बाटो हुँदै काठमाडौंको थानकोट पुग्न सकिने गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईंले जानकारी दिए ।उनका अनुसार सोमबार बिहानदेखि वैकल्पिक मार्ग गर्न यातायात व्यवसायीहरुलाई आग्रह गरिएको छ । कान्ति लोकपथ, भीमफेदी—कुलेखानी—दक्षिणकाली र मार्खु—चित्लाङ—थानकोट वैकल्पिक सडक प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ । हुमाने–मातातिर्थ र फाखेल—फर्पिङ सडकका विभिन्न भागको स्तरोन्नति गर्न लागिएको छ ।