आज उधौली पर्व । विशेष गरी किराँत समुदायको बाहुल्यता रहेका जिल्लाहरूमा उल्लासमय तरिकाले मनाइँदैछ । विशेष गरी किराँत समुदायअन्तर्गतका लिम्बू जातिले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका रूपमा मनाउने चलन छ ।योसँगै मौलिक र सांस्कृतिक कार्यक्रम गर्दै यो पर्व मनाइन्छ । विशेषतः पूर्वी पहाडमा बाहुल्यता रहेका राई, लिम्बू, सुनार र याक्खा जातिले मंसिर पूर्णिमाको दिनलाई चासोक तङ्नाम अर्थात उधौली पर्वका नामले पुकार्दै मनाउने चलन छ ।आजकै दिन हिन्दू धर्मावलम्बीले पनि धान्य पूर्णिमाका अवसरमा गोठ पूजा गर्ने चलन छ । आफूलाई प्रकृति पूजकका रूपमा चिनाउने किराँत समुदायले आजकै दिन नयाँ अन्न चढाएर न्वागी खाने गर्दछन् । चासोक तङ्नामका अवसरमा फिदिमस्थित सुम्हालुङ मन्दिर,सिलौती,लव्रेकुटीलगायतका स्थलहरुमा पूजा आराधनासहित नयाँ अन्न विधिवत रूपमा चढाएर न्वागी पूजा गर्नेको भीड लागेको छ ।यस पर्वका अवसरमा पाँचथर,ताप्लेजुङ,इलाम,धनकुटा र तेह्रथुमसहित संघीय राजधानीका काठमाडौं ललितपुर र आदिवासी जनजातिको बसोबास रहेका विदेशी भूभागमा समेत न्वागी पुजा, चियापान, सांस्कृतिक कार्यक्रम आयोजना हुने किराँत याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष चन्द्रकुमार आङदेम्बे बताँउछन् ।