Home » पेट्रोलियम, पाम र सोयाबिन तेल कम आउँदा आयात घट्यो
पेट्रोलियम पदार्थ, कच्चा पाम र सोयाबिन तेलको आयातमा कमी आउँदा समग्र आयात व्यापार घटेको छ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ४२ अर्ब २० करोडको आयात भएको भन्सार विभागको तथ्यांक छ । यो रकम आर्थिक वर्ष ०७९/८० को पहिलो ५ महिनाको तुलनामा ३.३९ प्रतिशतले कमी हो ।चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ६ खर्ब ६४ अर्ब ७४ करोडको वस्तु आयात भएको छ । समग्र आयातमा कमी हुनुको प्रमुख कारण पेट्रोलियम र क्रुड खाने तेलको आयातमा कमी आउनु रहेको सरोकारवाला बताउँछन् ।आयात व्यापारमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा पर्छ । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सवा ५ अर्बको पेट्रोलियम पदार्थ, २२ अर्ब १५ करोड रुपैयाँको क्रुड पाम र सोयाबिन तेलको कच्चा पदार्थ आयात घटेको भन्सार विभागको तथ्यांक छ । यस अवधिमा डिजेल, पेट्रोल, हवाई इन्धन र ग्यास गरी १ खर्ब ११ अर्ब ७६ करोडको आयात भएको छ । ०७९/८० को पहिलो ५ महिनामा १ खर्ब १७ अर्ब २ करोडको पेट्रोलियम आयात भएको थियो ।चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ७ अर्ब २१ करोडको क्रुड सोयाबिन र ५ अर्ब ६५ करोडको क्रुड पाम तेल आयात भएको छ । जब कि ०७९/८० को पहिलो ५ महिनामा २० अर्ब ६८ करोडको क्रुड सोयाबिन, १४ अर्ब ३३ करोडको क्रुड पाम तेल आएको थियो । पेट्रोलियम, क्रुड सोयाबिन र पाम तेल गरी २७ अर्ब ४१ करोड रुपैयाँ आयात घट्दा समग्र आयात व्यापारमा प्रभाव परेको हो । पेट्रोलियम पदार्थको आयात घट्नुको कारण विद्युतीय गाडीमा प्रोत्साहनको नीति हुन सक्ने जानकार बताउँछन् । पाँच महिनाको तुलनामा झन्डै ३ गुणाले विद्युतीय सवारी आयात बढेको विभागको तथ्यांक छ ।विभागका अनुसार गएको पाँच महिनामा ३ हजार ६ सय ७५ थान विद्युतीय कार, जिप, भ्यान आयात भएका छन् । गत आर्थिक वर्षको यही अवधिमा १ हजार ३ सय ५३ थान विद्युतीय कार, जिप र भ्यान आएका थिए । ‘पेट्रोलियम सवारीको विकल्पमा अहिले इलेक्ट्रिक सवारी आएका छन् । विभागको तथ्यांकले पनि यसैलाई पुष्टि गर्छ,’ पूर्वउद्योग सचिव चन्द्र घिमिरेले भने, ‘क्रुड सोयाबिन र क्रुड पाम तेलको आयातमा कमी देखिन्छ । यस्ता तेलको कच्चापदार्थ आयात कम हुँदा त्यसको प्रभाव निर्यातमा पनि परेको छ ।’चालु आर्थिक वर्षको पहिलो ५ महिना मात्रै नभई पछिल्लो २ महिनाको आयात व्यापार क्रमशः घट्दो रहेको विभागको तथ्यांक छ । अर्थतन्त्र शिथिल अवस्थामै रहेको घिमिरे बताउँछन् । अर्थतन्त्र चलायमान हुन सकेको छैन । विकास निर्माणका लागि आउने सामान आयातमा आएको कमीले पनि यसमा प्रभाव पारेको बताइन्छ । ‘खाद्यवस्तुको आयात घट्नु सकारात्मक हो, । यसले स्वदेशमै उत्पादन बढेको देखाउँछ । तर तथ्यांकले खाद्यवस्तुभन्दा कच्चापदार्थ आयात र विकास निर्माणमा चाहिने वस्तुको आयात घटेको देखिन्छ,’ पूर्वसचिव घिमिरेले भने, ‘मुलुकको व्यापारको अवस्थाले अर्थतन्त्र अझै सकारात्मक अवस्थामा देखाउँदैन ।’ सर्वसाधारणसँग पैसा नभएर पनि आयात र उपभोग घटेको जानकार बताउँछन् ।निर्यात व्यापार पनि सन्तुष्ट हुने अवस्थामा नरहेको विभागले जनाएको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा निर्यात व्यापार ६.०९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो ५ महिनामा ६७ अर्ब ३० करोडको निर्यात भएको वस्तु अहिले ६३ अर्ब २० करोडमा झरेको छ । निर्यात बढाउनकै लागि सरकारले तुलनात्मक लाभका वस्तु घोषणा गरेको छ । तर ती वस्तुबाट सरकारले फाइदा लिन सकेको छैन । निर्यातको क्रममा गुणस्तरीय वस्तु दिन सकेको पनि छैन । प्रयोगशालाको पनि समस्या भएकै कारण निर्यात बढ्न नसकेको घिमिरेले जनाए ।निर्यात बजारमा क्रुड सोयाबिन, पाम र सनफ्लावर तेलको भूमिका महत्त्वपूर्ण रहन्छ । तेस्रो मुलुकबाट आयात हुने यी तेल व्यवसायीले रिफाइन गरेर भारत निर्यात गर्छन् । तर चालु आर्थिक वर्षको पहिलो ५ महिनामा यी वस्तुको आयात पनि घटेको छ, जसले गर्दा निर्यात व्यापार पनि घटेको छ । पछिल्लो समय गलैंचा र कार्पेटको निर्यात पनि घटेको पूर्वसचिव घिमिरेले जनाए । आयात र निर्यात घट्दा समग्र व्यापार घाटामा पनि कमी आएको छ । विभागका अनुसार ५ महिनामा व्यापार घाटा ३.०९ प्रतिशतले घटेर ५ खर्ब ७९ अर्ब पुगेको छ ।